नारायणगोपालको त्यो अन्तर्वार्ता

शब्दलाई अनावश्यक रुपमा तन्काएर गाउनु मात्र बहादुरी होइन

narayan-gopal
नेपाली संगीत, गीत लेखन र गायनबारे नारायणगोपालसँग कुराकानी
पहिलेको आफ्नो क्यासेट र अहिलेको क्यासेट (गीतियात्रा) लाई तपाईं कसरी तुलना गर्नुहुन्छ ?
ट्युनिङ र सिङ्गिङको हिसाबले अहिले बेटर छ ।
तपाईंको स्वाभिमानमा पहिले र अहिलेमा कुनै अन्तर आएको छ कि छैन ?
मैले त्यो विचारै गरेको छैन । यस्तोमा सिरियस भएकै छैन ।
देशको राजनीतिमा नि ?
त्यसमा पनि ।
अनि आफ्नो गीतमा पनि सिरियस हुनुहुन्न ? 
अब गीतमा के नि ? गाइँदै छ । कुनै गीतले सन्तुष्टि दिन्छ, कुनैले असन्तुष्टि, यस्तै त हो नि !
अचेलका गीत कस्तो लाग्छ ?
होइन, अचेलका गीतमा के भनेको त्यो ! मुटु ढुकढुक गर्छ देख्नासाथ, तिम्रा आँखा, आहा यस्तै-यस्तै ।
त्यसो भए अहिलेको गीत लेखनसँग तपाईं सन्तुष्ट हुनुहुन्न ?
प्राय: असन्तुष्टि छ मलाई । सिम्पल तर भावपूर्ण गीत मन पर्छ । त्यस्तो गीत लेख्नमा कटुवाल (हरिभक्त कटुवाल) माहिर थियो । घिमिरे (माधवप्रसाद घिमिरे) पनि सिद्धहस्त हुनुहुन्छ ।
गीत रचनाको कुरा त थाहा भयो । अहिलेको संगीतको स्तर कस्तो छ नि ?
संगीत त बेटर छ । सबैले बुझ्दै गएका छन्, अर्केष्ट्राको प्रयोग राम्रो भएको छ ।
धुनको परिष्कार हुन बाँकी छ जस्तो लाग्दैन तपाईंलाई ?
पुरानै धुनको शैली अँगाल्दा त्यो एकै किसिमको हुन जान्छ । नयाँ किसिमलाई श्रोताले पचाउनु पनि पर्‍यो । नत्र सबै गरेर, कम्पोजिसनका दृष्टिले अहिले धेरै राम्रो छ ।
पहिलेका तुलनामा गायकहरु नि ?
गायकहरु पनि पहिलेभन्दा राम्रा छन् । कसरी गाउनुपर्छ भन्ने सिकिसकेका छन् । राम्रो भनेर सबै राम्रो भनेको होइन, बढ्ता त नराम्रै छन् ।
मानिस भन्दछन्, नारायण गोपाल आएपछि संगीत र गायनमा एउटा नयाँ मोड आयो । तपाईं अघिको संगीत र तपाईंदेखिको संगीतमा के अन्तर देख्नुभएको छ ?
पहिलेको ट्युनिङका ‘मोनोफोरी’ मा एकाङ्गीपन थियो । गीतको लय हाल्नु नै मुख्य संगीत ठान्ने चलन थियो । आज के मानिन्छ भने ट्युनिङ एक्लो मात्र संगीत होइन । यसको ‘हार्मोनी’ का लागि अर्केष्ट्रा अर्थात् वाद्य-संगीतले पनि त्यत्तिकै सशक्त भूमिका खेल्छ । आज ‘पोलोफोनी’ को मान्यता छ, जस्तो म एउटा गीत गाउँछु, एकातिर भ्वायलिन आफ्नै किसिमले बजिरहेको हुन्छ, अर्कातिर बाँसुरी । यसरी तीनै कुरा मिलेर ‘हार्मोनी’ को सिर्जना हुन्छ । संगीतमा यो हुनैपर्छ । पहिलेकोमा यो त्यति देखेको छैन ।
जहाँसम्म गायनको कुरा छ, म गीतमा के भनिएको छ, त्यसलाई व्यक्त गर्ने प्रयास गर्दछु । एउटा फेजलाई कैयौं किसिमले व्यक्त गर्न सकिन्छ । उदाहरण लिनुस्, जस्तो: मलाई फूल मन पर्छ भनेर एउटा बिरामीले पनि भन्न सक्छे, एउटी प्रेमिकाले पनि भन्न सक्छे । तर, अवस्था फरक हुन्छ । त्यस कारण, मलाई फूल मन पर्छ मात्र भनेर भएन, त्यसमा स्वाभाविकता पनि हुनुपर्दछ । त्यो भित्रबाट आउनुपर्दछ । शब्दलाई अनावश्यक रुपमा तन्काएर गाउनु मात्र बहादुरी होइन, सिम्पल किसिमले गाउन सक्नुपर्दछ । लता, रफी भनेर किन भनिन्छ ? इन्डियामा स्वरकै हिसाबले हेर्ने हो भने लताभन्दा राम्रो पनि पाइन्छ ।
सङ्क्षेपमा, गीतको लय र शब्दको हिसाबले के भन्न खोजिएको छ, त्यही हिसाबले गाउने मेरो प्रयत्न हुन्छ । हुन त, आफ्नै बारेमा भन्न नहुने हो, तर त्यस्तरी गाउने कमै देखेको छु । मेसिनले जस्तो गाउँछन्,  मेसिनले जस्तो गाउनु हुँदैन ।
कुन धुनलाई तपाईं राम्रो मान्नुहुन्छ ?
दूध मीठो छ भन्ने कुरा दूध नखाएकोलाई लेखेर बुझाउन सकिँदैन । त्यसैले धुन मीठो-नमीठो पनि सुनेपछि मात्र भनिन्छ, किनभने त्यो धुनले हृदय छोएको हुन्छ ।
मानिस संगीतप्रति किन आकर्षित हुन्छ ?
हुन त यो आवश्यक भन्ने त होइन, तर स्वाभाविक चाहिँ हो । नाद कुनै अवस्थामा कानले नसुने पनि दिमागले सुन्छ । बेथोविन कान सुन्दैन थिए, तर संगीत इन्जोय गर्थे ।
पश्चिमी संगीतको श्रवण-अध्ययन कत्तिको गर्नुभएको छ ?
गरेकै छु ।
तपाईंले शास्त्रीय संगीत पनि सिक्नुभएको छ, तर त्यसको सदुपयोग आफ्नो संगीतमा कत्तिको गर्नुभएको छ ?
शास्त्रीय संगीत भनेको संगीतको व्याकरण हो । त्यसको सिद्धान्तबाट पर हट्नु हुँदैन, त्यति मात्रै हो । हामी शास्त्रीय संगीतको नियम नतोडेर आफ्नै सिर्जना गर्दछौं ।
पहिले-पहिले भनिन्थ्यो, विभिन्न राग गाएर गायकहरु बत्ती बाल्ने, पानी पार्ने आदि गर्थे । त्यसपछि अस्पतालको रोगीमाथि हालैमा संगीतको मनोवैज्ञानिक प्रभाव रेकर्ड गरिएको थियो । संगीतको चमत्कारी प्रभावबारे के भन्नुहुन्छ ?
कति कुरा किंवदन्ती र कथा मात्र हुन्- जस्तो कि आगो बाल्ने, पानी पार्ने । म्युजिक एउटा कला हो । यो विज्ञान पनि हो । स्वरको कम्पन, भाइब्रेसन मस्तिष्कका तन्तुहरुमा प्रभाव पारिहाल्छ । गाईकव दूध दुहुँदा मीठो संगीत बजाएको छ भने, दूध धेरै आउने, बिरामीमा संगीतको अपेक्षित प्रभाव पर्ने कुरा त स्वाभाविकै हो ।
जस्तो साँप बिनले नाच्ने कुरा कसरी सत्य हुन्छ, जबकि साँपको कानै हुँदैन । वास्तवमा त्यस्तो साँप पाल्तु हुन्छ । अनि बीन बजाउँदा बजाउने मान्छे हल्लिएर बजाउँछ, त्यसै अनुसार साँप पनि हल्लिन्छ । तर, त्यो बीनको धुन सुनेर होइन, बीन देखेर हल्लिएको हो ।
(त्यो बेलाको नेपाली संगीत, गीत लेखन र गायनबारे नारायणगोपालसँग कुराकानी गरेर रुपकदीपले ०४४ साल चैत ५ गतेको ‘समीक्षा’ पत्रिकामा लेख छापेका थिए । ‘बागीना’ पत्रिकाको नारायणगोपाल स्मृति अंक (०४९) मा समेटिएको सोही लेखमा प्रयुक्त कुराकानीका सन्दर्भलाई सम्पादन गरी अन्तर्वार्ताका रुपमा प्रस्तुत गरिएको हो ।)
२०७३ मंसिर १९ गते १०:५२ मा प्रकाशित

Comments

Popular posts from this blog

Vacancy Announced in Myadi Prahari by Nepal Police, Here’s Everything You Need to Know